काठमाडौं, फागुन ९ गते । प्रदेशको सामर्थ्य बढाउनु नै आफ्नो एकमात्र लक्ष्य भएको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बताउका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सोमबार मुख्यमन्त्रीका सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाउन साझा अधिकारका विषयमा कानुन बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताएका छन् ।
अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र हालको जिसस ( जिल्ला समन्वय समिति)जस्तो हुने जनाउँदै उनले कर्मचारी समायोजनमा अझै पनि समस्या रहेको बताए । सङ्घीय सरकारले सयौँ टुक्रे योजना आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको उनले टिप्पणी गरेका छन् । निजी क्षेत्रसँग मिलेर पुँजीगत खर्च बढाएर र ठूला परियोजना निर्माण गरेर गण्डकीलाई समृद्ध बनाउने उनको भनाई छ । सङ्घीय सरकारका विभिन्न कानुनी अवरोधका कारण काम गर्न अप्ठेरो परेको जनाउँदै उनले जग्गाप्राप्ति र भौतिक निर्माणमा वनले रोक्दा अप्ठेरो परेको प्रष्ट पारेका छन् ।