काठमाडौं, फागुन ४ गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ मा जहाज अवतरणको अनुमति दिनुअघि भिजुअल अप्रोचबारे विस्तृत अध्ययन गर्न दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ ।
प्रतिवेदनअनुसार पोखरा विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट भीएफआर (आँखाले हेरेर हुने ) उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ । आयोगको यो सिफारिससँगै तत्काललाई पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट जहाज अवतरण गर्न नपाइने भएको छ ।
गएको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनापछि छानबिन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे नेतृत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरिएको थियो ।आयोगले हिजो छानबिनपछिको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।