काठमाडौं । फागुन १८ गते
मंगलबार राति प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले देउवासँग टेलिफोन संवाद गरेका हुन् ।प्रधानमन्त्री देउवाका प्रेस चिफ गोविन्द परियारका अनुसार दुई जना बीचमा मंगलबार राति कुराकानी भएको हो ।
उक्त संवादका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ ।विदेश मन्त्री ब्लिन्केनले रुसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको अमेरिकाको समर्थनबारे नेपालका प्रधानमन्त्री देउवासँग कुराकानी भएको आफ्नो सामाजिकस सञ्जालमा उल्लेख गरेका छन् । साथै, विदेश मन्त्री ब्लिन्केनले दुई जनाबीचको संवादमा आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्न जारी राख्ने विषयमा छलफल भएको पनि प्रस्ट पारेका छन् ।
प्रधानमन्त्रीका प्रेस चिफ परियारका अनुसार दुई जनाबीचको संवादमा अमेरिकाले नेपालको आर्थिक विकासमा विगत लामो समयदेखि निरन्तर गर्दै आइरहेको सहयोगलाई लिएर प्रधानमन्त्री देउवाले विदेशमन्त्री ब्लिन्केनलाई धन्यवाद दिएका थिए । नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अमेरिकाबाट निरन्तर सहयोग रहेको उल्लेख गरेका थिए । साथै, दुई जनाबीचको संवादमा युक्रेनमाथि रुसी आक्रमणको विपक्षमा अमेरिका र नेपाल दुवै रहेको उल्लेख गरेको परियारले जानकारी दिए ।