काठमाडौं । फगुन १५ गते
अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ ।आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिनु भएको छ ।माओवादी केन्द्रले यो निर्णयसँगै संसदमा टेबल भएको एमसिसी पारित हुने दिशामा गएको छ। एमसिसीका कारण सत्तारूढ गठबन्धन नै भत्किने अवस्था बनेपछि दलहरूले अन्तर्राष्ट्रिय प्रचलनमा रहेको व्याख्यात्मक घोषणा मार्फत् एमसिसीमा उठेका चासो सम्बोधन गर्ने बाटो खोजेका हुन्।
माओवादी केन्द्र र नेकपा -एकीकृत समाजवादी_ का शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो। यी दुई पार्टीका दोस्रो तहका नेताहरूले नै व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न पार्टी नेतृत्वलाई सकारात्मक बनाएका हुन्।व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने प्रस्ताव केही समयअघि कांग्रेस महामन्त्री गगन थापाले शीर्ष नेताहरूको बैठकमा राखेका थिए।एमसिसी पारित गर्दा यसअघि अर्थ मन्त्रालयले एमसिसीलाई सोधेका प्रश्न र उसले दिएका उत्तर पनि सँगै राख्ने र यसले अहिले उठेका आशंकाहरूको निरूपण हुने थापाको भनाइ थियो।
।