काठमाडौं । फागुन १४ गते
सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भएको छ । शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै ज्ञवालीले आफूहरुले पूरानै कुरा राखेको बताउनु भएको थियो ।
उहाँले एमालेलाई संसदमा बस्ने वातावरण बनाउन आफूहरुले कांग्रेससँग माग गरेको बताउनु भएको छ । लोकतन्त्रका लागि योगदान गरेका एमाले–कांग्रेसको योगदान हिजो पनि भएको र आगामी दिनमा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको उहाँले जानकारी दिनु भएको थियो । गठबन्धनमा समस्या देखिएको भन्दै उहाँले त्यसमा कांग्रेस गम्भीर देखिएको पनि बताउनु भएको थियो ।