काठमाडौं। फागुन १२ गते
आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । अध्यक्ष ओलीको आज परेको ७१ औँ जन्मदिनको अवसरमा भक्तपुरको जर्मन होम्स हस्पिटालिटी गठ्ठाघरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले २०६२ सालदेखि अहिलेसम्म विभिन्न कार्यक्रममा बोलेको र भोगेका विषयलाई सञ्जय खड्का र लोग्सरी कुँवरले सङ्कलन र सम्पादन गरेको पुस्तक ‘समवेत दृष्टि’ को विमोचनमका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सो पुस्तक अध्यक्ष ओली, उहाँका पिता मोहनप्रसाद र श्रीमती राधिकाले विमोचन गर्नुभएको हो ।“म त फाँसी दिन माग गरिएको मान्छे, जनताको माया, सद्भाव र सहयोगले जेलमुक्त भएँ, म बिरामी पर्दा जनताले मठमन्दिर, गुम्बामा पूजा, भाकल गरेर, शुभेच्छा दिएर आफ्नो स्वास्थ्यलाभको कामना गर्नुभएको मलाई थाहा छ, जनताको शुभेच्छा र प्रार्थनाले म निको भएँ, मैले जनताबाट असाधारण माया र सहयोग पाएको छु, जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु”, अध्यक्ष ओलीले भन्नुभयो, “यो देशका जनता मेरो भगवान् हुन्, जनताभन्दा ठूलो कोही हुँदैन । जनताको माया, स्नेह, आशीर्वाद, जनताको शुभकामना र प्रार्थनाबाट पाएको आशीर्वादबाट पाएको मेरो बाँकी जीवन यही देश र जनताप्रति समर्पित गर्छु ।”