×

Nepali Community

एमसीसीको पक्षमा रहेका सांसदहरूलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन


काठमाडौं। फागुन १२ गते
नेपाली कांग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार कांग्रेसले आफ्ना ६३ मध्ये ५९ सांसदलाई अनिवार्य उपस्थितिका लागि मोबाइलको एसएमएसमार्फत निर्देशन दिएको छ । कांग्रेसका दुई सांसद निलम्बनमा परेका छन् भने दुई जना उपचारका लागि विदेशमा छन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा अघि बढेपछि कांग्रेसले एमसीसीको पक्षमा उभिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि संवाद गरिरहेको छ । काग्रेससँगको छलफलमा एमालले आफ्ना माग पूरा भएपछि मात्र संसद् अवरोध नगर्ने र एमसीसीबारेमा निर्णय लिने बताए पनि एमाले नेतृत्वले एमसीसीको पक्षमा नै वकालत गरिरहेको छ ।अर्का सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि एमसीसीको पक्षमा रहेको जनाउँदै संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

संसद्मा लोसपाका १३ जना सांसद छन् । लोसपा सांसद चन्दा चौधरीका अनुसार बुधबार बसेको पार्टी संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । एमसीसी सम्झौता संसद्बाट पारित गर्न कांग्रेस, एमाले, लोसपालगायतका दलहरू सकारात्मक भएपछि माओवादी र एकीकृत समाजवादी पार्टीमाथि दबाब बढेको छ ।
एमसीसी गत आइतबारको संसद् बैठकमा टेबल भएको थियो ।


More

View All

News

Health

Sports