काठमाडौं । फागुन ८ गते
सत्तासीन दलहरूले एमसीसीलाई ठगी खाने भाँडो बनाएको नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । उहाँले ५ वर्षअघि अहिले सरकारमा बस्नेले नै एमसीसी सम्झौता गरेको तर अहिले संसद्मा पुर्याउनुको साटो बाहिर बुरुकबुरुक उफ्रने गरेको टिप्पणी गर्नुभयो ।
उहाँले एमसीसीको सम्झौतापछि चुनावबाट एमालेको सरकार बनेको बेलामा एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौं भनेर अहिलेका सत्ता गठबन्धन दलहरूले पारित गर्न नदिई पर सार्दै गएको आरोप पनि लगाउनुभयो । ओलीले सरकारले एमसीसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिएको टिप्पणी गर्दै उहाँले एमसीसी विवादका कारण ठूला शक्ति राष्ट्रहरू नेपाल खेल मैदान हुने गरी भनाभनमा उत्रिन थालेको बताउनु भउको छ । कार्यक्रममा उहाँले अहिलेको सत्तारूढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको टिप्पणी गर्दै अब एक वर्षभित्र संघीय संसद्को चुनाव हुने र चुनावपछि एमालेले वर्तमान सरकारलाई विस्थापित गर्ने दाबी गर्नुभयो ।