काठमाडौं । फागुन ८ गते
एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतको भनाई छ । उहाँले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको दाबी गर्नु भएको छ । शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले फागुन १६ गतेभित्रै एमसीसी पारित गराउनु पर्नेमा जोड दिनु भएको थियो ।
एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उहाँको भनाई थियो । डा.महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले काँग्रेसले एमालेसँग गठबन्धन गर्ने बारे कुनै निर्णय नगरेको पनि सुनाउनु भएको थियो ।