काठमाडौं । फगुन ७ गते
संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा आफूहरुलाई सरकारबाट बाहिर पुर्याइएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।प्रजातन्त्र दिवसको अवरमारमा शुभकामना सन्देश जारी गर्दै ओलीले आफू नेतृत्वको सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको भए पनि संविधानको गलत व्याख्या गरेर हटाइएको बताउनु भएको छ । आफू सरकारबाट हटेपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई अझ सवल रुपमा अगाडि बढाउन चाहेको उहाँले उल्लेख गर्नु भएको छ ।
नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको उहाँको भनाई छ । आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन भएको भन्दै यसदिन नेपालीका लागि नयाँ युग आरम्भको बिन्दु भएको बताउनु भएको छ । ुजनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा उहाँले हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।