काठमाडौं । फगुन ३ गते
प्रधानन्यायाधीशले समयमै निकास नदिँदा महाअभियोग लगाउनुपर्ने अवस्था आएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताउनु भएको छ । नेता कोइरालाले आफूले पटकपटक न्यायालयलाई विवादमा नल्याउनका लागि निकास दिन सुझाव दिँदा प्रधानन्यायाधीशले नमानेको र अहिलेको समस्या आएको बताउनु भएको छ । महाअभियोग आउनुमा सत्ता गठबन्धन, एमसीसी जस्ता विषयले पनि काम गरेको हुन सक्नेतर्फ नेता कोइरालाले संकेत गर्नु भएको छ ।
उहाँले महाअभियोग टुंगो लाग्न ३–४ महिना लाग्ने दाबी गर्नु भएको छ । यद्यपि गठबन्धनसँग महाअभियोग पारित गर्ने मत नभएकाले के हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ । उहाँले सरकारका प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशहरूमा जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता नहुँदा समस्या आउने गरेको भन्दै लोकतन्त्रमा सबै कुराको महत्व रहेको जिकिर गर्नु भएको छ ।