काठमाडौं । फगुन ३ गते
एक शक्तिशाली विस्फोटनपछि सुरु भएको आगलागीमा परी दक्षिण–पश्चिमी फ्रान्समा दुईजना बालबालिकासहित कम्तीमा सातजनाको मृत्यु भएको छ ।स्थानीय समयानुसार सोमबार बिहान १ बजेर ३० मिनेट जाँदा भएको सो विस्फोटनका कारण सेन्ट लरेन्ट–डी–ला–सालन्क्युको एउटा सडकको दुवैतिर रहेका थुप्रै घरमा आगो लागेको थियो ।
स्थानीय बासिन्दाले विशाल आगोको लप्का देखिनुअघि ठूलो विस्फोटनको आवाज सुनेको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार करिब २० जना घाइते भएका छन् ।आगलागीबाट क्षतिग्रस्त दुईवटा फ्ल्याटको भग्नावशेषमा अग्निनियन्त्रकहरूले अझै मानिसको खोजी गरिरहेका छन् । विस्फोटनको कारण थाहा हुन सकेको छैन ।