काठमाडौं । माघ २९ गते
अमेरिकी सहयोग एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराउने विषयमा गम्भीर बन्नुपर्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताउनु भएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले एमसीसीलाई सम्भव भएसम्म राजनीतिक दलहरूबीच सहमतिबाट र नभए संसदीय प्रक्रियामार्फत चाँडो निकास दिनुपर्ने बताउनुभयो ।
उहाँले एमसीसीमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा नलैजाने भए यसले सरकार, पार्टी र संसदको क्षमतामाथि नै प्रश्न खडा गर्ने बताउनुभयो । एमसीसी अब एउटा अनुदान परियोजनाको रूपमा मात्रै नरहेको भन्दै उहाँले यसमा कुटनीतिक कौशल आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ्ग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने आफ्नो ठहर रहेको बताउनुभयो । यस्तै नेता कोइरालाले अबको चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।