काठमाडौं । माघ २७ गते
स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषय अध्ययन गर्न निर्वाचन आयोगले कार्यदल गठन गरेको छ । बुधबार निर्वाचन आयोगले नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर कार्यदल बनाएको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विद्युतीय मतदानको विषयमा अध्ययन गर्न सूचना प्रविधि मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको समाचार गोरखापत्रले लेखेको छ ।
एक साताको समय दिइएको कार्यदलले विद्युतीय मतदानका प्राविधिक पक्षबारे अध्ययन गरेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्ने छ । स्थानीय तहको मिति घोषणा भएपछि आयोगले विद्युतीय मतदानको विषयमा छलफल थालेको हो ।स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुने भएपछि आयोगले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा विद्युतीय मेसिनबाट मतदान गराउने तयारी गरेको हो ।