काठमाडौं । माघ २७ गते
किसान आन्दोलनको सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बताउनु भएको छ । वर्षौंदेखि किसानको समस्या कायम नै रहेको अवस्थामा जुनसुकै सरकार र व्यावस्था परिवर्तन भए पनि किसानले उठाएको मुद्दाको सम्बोधन नभएसम्म निर्वाचनको औचित्य नरहने भएकोले किसानको माग सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने बतउनु भएको हो ।वीरगन्जमा बुधबार पत्रकार सम्मेलन गर्दै जनमत पार्टीका अध्यक्ष डा.राउतले मतदाता किसानले जिताएर पठाएका राजनीतिक दलका नेताहरूले नै सत्तामा पुगेपछि किसानको दुःख पीडा बिर्सिएर उल्टै किसानलाई दमन गर्ने गरेको आरोप लगाउनु भएको थियो ।
उहाँले जनमत पार्टीले अहिले किसान आन्दोलनको मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै देशमा हुने जुनसुकै अन्याय, अत्याचार र विभेदकाविरुद्ध आन्दोलनको नेतृत्व गर्न सक्ने बताउनु भएको थियो । अध्यक्ष राउतले लोकतन्त्रमा एकजना नागरिकले पनि राज्यको गलत प्रवृत्तिको विरुद्ध आवाज उठाउन सक्ने भन्दै मधेसका किसानले माग सम्बोधन गर्नका लागि ज्ञापनपत्र बुझाउन खोज्दा समेत मुख्यमन्त्री लालबाबु राउत र उहाँको नेतृत्वको सरकारले ज्ञापनपत्रसमेत नबुझेर किसानको अपमान गरेको बताउनु भएको थियो ।