काठमाडौं । माघ २१ गते
अमेरिकाले युरोपका विभिन्न मुलुकमा थप ३ हजार सैनिक तैनाथ गर्ने भएको छ । रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिकी रक्षा मन्त्रालयका प्रेस सचिव जोन किर्बीले बुधबार जर्मनी, पोल्यान्ड र रोमानियामा थप ३ हजार सैनिक तैनाथ गरिने जानकारी दिएका हुन् ।यसअघि अमेरिकाले नेटो गठबन्धनको सेनालाई युरोपमा सहयोग गर्नका लागि ८ हजार ५ सय सैनिकलाई अलर्टमा राखिएको बताएको थियो । प्रेस सचिव किर्बीले तीन मुलुकमा पठाइन लागेका सैनिक भने अलगै भएको जानकारी दिए । अमेरिका र युरोपका विभिन्न ठाउँमा रहेका युनिटबाट ती सैनिक आउने उनले बताए ।
जर्मनीको फोर्ट ब्रागबाट १ हजार अमेरिकी सैनिक रोमानिया जानेछन् । रोमानियामा पहिले नै ९ सय अमेरिकी सैनिक तैनाथ छन् । त्यस्तै फोर्ट ब्राग र नर्थ क्यारोलाइनाबाट गरी २ हजार सैनिक पोल्यान्डमा तैनाथ गरिने भएको छ । त्यस्तै एउटा हेडक्वार्टर समूहका रूपमा जर्मनीमा पनि फौज पठाइने उनले बताए । त्यस्तै आवश्यकताअनुसार थप फौज पठाउन सकिने उनको भनाइ छ ।