×

Nepali Community

आज सोनाम ल्होछार,राष्ट्रपति,उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखद्वारा शुभकामना व्यक्त


काठमाडौं । माघ १९ गते
आज तामाङ समुदाय तथा ह्योल्मो समुदायको सोनाम ल्होछार मनाइँदैछ। सोही अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ।यस अवसरमा राष्ट्रप्रमुख तथा पार्टी प्रमुखहरुले शुभकामनासमेत व्यक्त गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ सोनाम ल्होछारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिनु भएको छ । राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याइरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होछार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नु भएको छ । देउवाले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गनु भएको छ । उहाँले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताउनु भएको छ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताउनु भएको छ । ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार–२८५८ को अवसरमा शुभकामना दिँदै पुनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताउनु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको छ । तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछारको अवसरमा एक शुभकामना सन्देश दिँदै सापकोटाले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका हाम्रा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गर्नु भएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै नेपालका बहुसांस्कृतिक विशेषताहरु देशको मौलिक पूँजी भएको बताउनु भएको छ । ओलीले एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गर्दै यस पर्वले परम्परा र संस्कृतिको संरक्षण गर्न थप प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिनु भएको छ ।


More

View All

News

Health

Sports