काठमाडौं । माघ १७ गते
अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि स्पेनिस टेनिस स्टार राफायल नाडालले जितेका छन् ।मेलबर्नमा आइतबार भएको फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेबलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।यससँगै पाँचौ वरीयताका नाडालले २१ औं पटक ग्रान्डस्लाम उपाधि जित्दै कीर्तिमान बनाएका छन् ।
५ घण्टा २४ मिनेट चलेको फाइनलमा सुरुआती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नाडालले दोस्रो वरीयताका मेदभेदेबलाई हराएर उपाधि चुमेका हुन् । मेदभेदेभले पहिलो सेट ६–२ तथा दोस्रो सेट ७–६ ९७–५० ले जितेका थिए । तर, नाडालले लगातार तेस्रो र चौथो सेट जित्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए ।
नाडालले तेस्रो सेट ६–४ र चौथो सेट पनि ६–४ ले आफ्नो पक्षमा पारेका थिए भने त्यसपछि नाडालले पाँचौ सेट ७–५ ले जित्दै कीर्तिमानी उपाधि हात पारेका हुन । ३५ वर्षीय नाडालको यो दोस्रो अष्ट्रेलियन ओपनको उपाधि हो । नाडालले २००९ मा पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।