काठमाडौं । माघ १५ गते
आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना रहेको अमेरिकी राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग बिहीवार भएको टेलीफोन वार्तामा सम्भावित आक्रमणबारे टिप्पणी गरेका हुन्।रुसले आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको सङ्कट समाधानका लागि आशावादी हुने ठाउँ असाध्यै झिनो रहेको बताएको छ ।
युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ।रुसले त्यस्तो आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले यदि रुसले थप हमला गरेमा अमेरिका र उसका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेकोमा आश्वस्त पारेको जनाइएको छ।