काठमाडौं । माघ १३ गते
आज भारतको ७३ औँ गणतन्त्र हो । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नु भएको छ । भारतको स्वतन्त्रताको ७५औं वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको हो ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नु भएको छ । त्यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना भारतीय समकक्षी एस जयशंकरलाई पठाएको सन्देशमा उनका साथै भारतका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । मन्त्री खड्काले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि सन्देशमा व्यक्त गर्नु भएको छ ।