काठमाडौं । माघ १० गते
सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको प्रमुख प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ । आइतबार एमाले अध्यक्ष केपी ओलीले विज्ञप्ति जारी गर्दै राज्यका तीनवटै अंगहरू आज संकटोन्मुख भएको दाबी गर्नु भएको थियो । मुलुकको कार्यकारी अंगका रूपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको र राष्ट्रिय हितको रक्षामा चुकेको छ, महामारीमा अकर्मन्य बनेको छ र जनतालाई न्यूनतम राहत दिनसमेत असमर्थ भएको उहाँको आरोप छ ।
यसरी राज्यका तीनवटै अंगहरू आज संकटोन्मुख छन् र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको एमाले अध्यक्ष ओलीले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको ओलीको दाबी छ । केही नेता र सर्वोच्च अदालतका पदाधिकारीहरूको अवाञ्छित साँठगाँठबाट संविधानको जसरी अपव्याख्या गरिएको र त्यसका दुष्प्रभाव प्रकट हुन थालेको ओलीको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओलीले आफ्नो विज्ञप्तिमा संसद्मा देखिएको अवरोधमा सरकारको भूमिका जिम्मेवार रहेको पनि आरोप लगाउनु भएको छ ।
‘ओलीले अहिले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलन देखापरेका दाबी गर्नु भएको छ । गठबन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको ओलीको विज्ञप्तिमा भनिएको छ । भारतसँग ऐतिहासिक सन्धि, दस्ताबेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल गर्नु त परको कुरा– लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूभागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्नसमेत नसक्ने निरीहता प्रकट गरिरहेको जिकिर गर्नु भएको छ ।