काठमाडौं । माघ ९ गते
पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आपत्ति जनाउनु भएको छ । उहाँले पार्टीको मुल सिद्धान्तबाट पछि हटेर विधान संशोधन गर्न नसकिने स्पष्ट पार्नु भएको छ । आयोगले गत २ माघमा राप्रपालाई पत्राचार गर्दै एक हप्ताभित्र विधान संसोधन गरेर पठाउन भनेको छ ।
यस विषयमा आज पार्टीमा छलफल गरेर आयोगलाई जवाफ दिइने अध्यक्ष लिङ्देनले बताउनु भएको हो ।आयोगले संविधानको मर्म र भावना विपरित पूर्वाग्रही ढंगले आयोगलाई पत्र पठाएको भन्दै उहाँले दुख व्यक्त गर्नु भएको छ । नेपालको संविधानले गणतन्त्र र धर्मपनिरपेक्षतालाई अपरिवर्तनीय नमानेको लिङदेनले आयोगलाई स्मरण गराउनु भएको छ ।
उहाँले राष्ट्रिय सार्वभौमिकता विपरितका र हिंसात्मक राजनीतिबाट सत्ता प्राप्त गर्ने एजेन्डाबाहेक सबै विषयवस्तु संविधानले खुल्ला राखेको र दुईतिहाई बहुमतले संसदबाटै राजसंस्था र हिन्दू राष्ट्र फर्काउन सकिने जिकिर गर्नु भएको छ ।विधान संसोधन गर्न दबाब दिएर आयोगले राप्रपामाथि पूर्वाग्रही र ज्यादतीपूर्ण व्यवहार गरेको लिङदेनले बताउनु भएको छ ।