काठमाडौं । माघ ८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी नै नभएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपमहासचिव विष्णु रिमालले बताउनु भएको छ । बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना नआएको रिमालले जानकारी दिनु भएको छ ।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्दैछन् । प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।