काठमाडौं । माघ ६ गते
अहिले सञ्चालनमा रहेका परीक्षाहरुलाई अनलाइन माध्यमबाट गराउन नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमल्सिनाले माग गर्नु भएको छ । उहाँले कोभिड–१९ को संक्रमण बढिरहेकाले त्रिभुवन विश्वविद्यालय ,पूर्वाञ्चल विश्वविद्यालय लगाएत सबै विश्वविद्यालयका परीक्षा अनलाइनबाट गर्न माग गर्नु भएको हो ।
सबै विश्वविद्यालयका सबै संकाय र कार्यक्रम अन्तर्गत संचालित परीक्षा तथा विद्यालय एवम् सम्पूर्ण तह र विषयका परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्न तिमल्सिनाले आग्रह गर्नु भएको छ । उहाँले अनलाइनबाट परीक्षा गर्नुपर्ने माग गर्दै धर्नामा बसेका नेविसंघका विद्यार्थीमाथि प्रहरीले धरपकड गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा विद्यार्थीबाट भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको उहाँको भनाइ छ।