काठमाडौं । माघ २ गते
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले २४ औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा बोल्दै विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताउनु भएको छ । भूकम्पले भौतिक संरचनामा पुर्याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको उल्लेख गर्दै मेयर शाक्यले काठमाडौँमा अझै पनि टेकाको भरमा सांस्कृतिक संरचना अडिएको उल्लेख गर्नु भएको छ ।
मेयर शाक्यले टेको लगाएका भौतिक संरचना पुननिर्माणका लागि अनुमति नपाएको गुनासो गर्नु भएको छ । कार्यक्रममा महानगरमा कार्यरत फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विश्वेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार आगलागी नियन्त्रणका लागि गरेको योगदानको सम्मान स्वरुप उनीहरुलाई सम्मान गरिएको हो । १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पुर्याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ ।