काठमाडौं । पुष २८ गते
नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले बताउनु भएको छ । महासचिव वैद्यले नेकपा )माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरू बीचमा एकताको सम्भावना नरहेको बताउनुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि त्यो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।
आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उहाँको तर्क थियो ।उहाँले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताउनुभयो ।
महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताउनुभयो । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस क्षेत्रमा बाटो विस्तारको काम चलिरहेको छ भनिराखेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको उहाँले बताउनुभयो ।