काठमाडौं । पुष २७ गते
पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस आज देशभर बिभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो ।शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् ।
कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ ।आज नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौको कमलादीबाट सांस्कृतिक झाँकी एवम् बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
दिउँसो राष्ट्रिय नाचघर जमलमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गर्ने तयारी छ । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाण्डौ ल्याएको छ । शाहले एकीकरणका बेला तय गरेको बाटोबाट सेनाले टर्च ल्याएको हो । हनुमानढोकामा राखिएको टर्च आज जङ्गी अड्डा लगिने सेनाले जनाएको छ ।