काठमाडौं । पुष २३ गते
भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि एकै दिन ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।भारतमा नयाँ भेरिएन्टबाट पहिलो पटक एक जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । भारतमा हालसम्म २ हजार ३ सय ६० जनामा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ६ सय ५३ महाराष्ट्र र दिल्लीका ४ सय ६४ जना छन् ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९० हजार ९ सय २८ जना संक्रमित भएका हुन् ।
योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ४९ लाख नाघेको छ ।मन्त्रालयका अनुसार सोही अवधिमा थप ३ सय २५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार ६ पुगेको छ । भारतभर हाल २ लाख ८५ हजार ४ सय १० जना संक्रिय संक्रमित छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ हजार २ सय जना निको भएको जनाएको छ । निको हुने दर ९७।८१ प्रतिशत रहेको जनाइएको छ । सन् २०२१ को जनवरी १६ बाट कोभिडविरुद्धको खोप अभियान सुरु गरेको भारतले १ अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइसकेको जनाइएको छ ।