काठमाडौं । पुष २१ गते
भारतका कारण सार्क संकटमा परेको पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले आरोप लगाउनु भएको छ । उहाँले क्षेत्रीय सहकार्य, आर्थिक क्रियाकलाप, व्यापारका लागि सार्क महत्त्वपूर्ण रहेको तर भारतको जिद्दीका कारण यो मञ्च काम नलाग्ने जस्तै बनेको आरोप लागाउनु भएको छ । उहाँले भारत इस्लामाबाद आउन तयार नभएको र पाकिस्तानले पटकपटक सम्मेलनका लागि प्रयास गरिरहेको जिकिर गर्नु भएको थियो ।
भारत इस्लामाबाद आउन नचाहेको भए ‘भर्चुअली’ सहभागी हुन सक्ने उहाँले सुझाव दिनु भएको छ । प्रत्येक दुई वर्षमा हुने सम्मेलन सन् २०१४ यता भएको छैन । १८ औं शिखर सम्मेलन काठमाडौंमा भएको थियो । त्यसपछि सन् २०१६ मा सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको थियो । तर, पाकिस्तानसँगको द्वन्द्वका कारण भारतले इस्लामाबादमा सहभागी नहुने बताएपछि सम्मेलन नै हुन सकेको छैन ।