काठमाडौं । पुष २० गते
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।उक्त प्रणालीका कारण हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाको भनाइ छ। अन्यत्र भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा आँशिक बदली रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही अन्यत्र आंशिक बदली रहने छ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ। मौसम सफा रहे पनि देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।