काठमाडौं । पुष २० गते
अहिलेको सरकार सफल भएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ । नेपाली कांग्रेस मोरङ पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले महाधिवेशन पछाडि सभापति समेत रहेका शेरबहादुर देउवालाई सरकारलाई काम गर्न थप ऊर्जा मिलेको बताउनु भएको छ ।
नेता डा.शेखर कोइरालाको गृहजिल्ला मोरङमा आएर शर्माले सभापति देउवाको प्रशंसा गर्दै अहिलेको सरकारलाई कोरोनाको खोपमा सफलता मिलेको जिकिर गर्नु भएको छ । शर्माले देउवा सरकारको २ वटा लक्ष्य रहेको बताउँदै एउटा खोप र अर्को चुनाव रहेकाले २ वटैमा कांग्रेस सफल हुँदै गएको बताउनु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीजस्तो कांग्रेस नभएकाले हारजीतको कुरा गर्न नहुने उल्लेख गर्नु भएको छ । शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताउनु भएको छ ।