काठमाडौं । पुष ८ गते
तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चिकित्सा शिक्षा आयोगले चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो ।
आयोगका सदस्य–सचिव डा.भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सिट रोक्का गर्न पत्र पठाउने तयारी भइरहेको जानकारी दिनु भएको छ । कारबाही गर्ने अधिकार आयोगसँग नभएको गुनासो गर्दै उहाँले बढी शुल्क लिने कलेज भएका जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी कारबाही गर्न आग्रह गरेको जानकारी दिनु भएको छ ।
उहाँका अनुसार मनपरी शुल्क लिने कलेजमाथि कारबाही अघि बढाउन कास्की, मोरङ, काठमाडौं, पर्सा, लुम्बिनी र चितवन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ । आयोगले मेडिकल कलेजको सम्बन्धन दिएका सबै विश्वविद्यालयलाई समेत बढी शुल्क लिएका कलेजमाथि कारबाही गर्न पत्र पठाएको छ ।