काठमाडौं । पुष ६ गते
प्रतिपक्षी नेकपा एमाले प्रतिगमनको बाटोमा लागिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनु भएको छ । अध्यक्ष ‘प्रचण्ड’ले संसद् बैठक निरन्तर अवरुद्ध गरेर एमालेले प्रतिगामी कदमलाई निरन्तरता दिइराखेको टिप्पणी गर्दै संविधान मिच्ने, लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पार्ने षड्यन्त्रमा एमाले लागिपरेको जिकिर गर्नु भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल देखिएपछि सदनमा उपस्थित नहुने भनिराख्नुभएको बताउँदै प्रचण्डले प्रश्न गर्नुभयो । सर्वोच्च अदालबाट ह्वीप नलाग्ने फैसलाबमोजिम सभामुखले १३ दिनभित्रै निर्णय लिनुभएको स्मरण गराउँदै उहाँले सभामुखबाट संविधानको मर्म र भावनाको उल्लंघन नभएको दाबी गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको, संसद्ले स्वीकार गरेको र पाँच दलीय गठबन्धनका आधारमा सरकार बनेको उल्लेख गर्दै प्रचण्डले एकीकृत समाजवादीलाई अस्वीकार गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो । पाँच दलीय सत्ता गठबन्धन भत्काउन विभिन्न चलखेल भइरहेको भन्दै बताउदै प्रचण्डले गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।