काठमाडौं । पुष ६ गते
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने दक्ष जनशक्ति पलायन रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने बताउनु भएको छ । श्रममन्त्री श्रेष्ठले मन्त्रालयले स्वदेशमै रोजगारी सृजना गर्नुका साथै वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियालाई निरुत्साहित हुने गरी काम गररहेको जानकारी दिनु भएको छ ।
दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी धन्दाको अन्त्य गरिने प्रतिवद्धतासमेत व्यक्त गर्नु भएको छ । विचौलियालाई कानुनी कठघरामा उभ्याइने श्रममन्त्री श्रेष्ठको भनाई छ । वैदेशिक रोजगारका नाममा ठगी गर्ने कतिपय म्यानपावर कम्पनीलाई कारबाही गर्न थालिएको मन्त्री श्रेष्ठले जानकारी दिनु भएको छ ।
उहाँले श्रम स्वीकृति लिने व्यवस्था सातवटै प्रदेशबाट गरिएको र सातवटै प्रदेशमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको जानकारी दिनु भएको छ । श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको मन्त्री श्रेष्ठको भनाई ।