काठमाडौं । पुष १ गते
प्रचण्डपथ त्याग्नु आफूहरूको गल्ती भएको र सोहीकारण माओवादी नेताहरू तितरवितर भएको नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख एवम् अर्थमन्त्री जनार्दन शर्माको भनाई छ । पार्टी समर्थित जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता एवम् मन्त्री शर्माले प्रचण्डपथले माओवादीलाई एकढिक्का बनाएर राखेकोमा सो त्यागिएपछि समस्या भएको उल्लेख गर्नु भएको छ ।
वि.सं. २०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले पार्टीको पथप्रदर्शक सिद्धान्तका रूपमा प्रचण्डपथ अंगीकार गरेको थियो । २०६५ पुस ३० गते तत्कालीन नेकपा (माओवादी) र नेकपा एकताकेन्द्रबीच पार्टी एकता भएपछि प्रचण्डले प्रचण्डपथलाई पार्टीको पथप्रदर्शक विचारबाट हटाएका थिए । नेता शर्माले यसअघि पनि प्रचण्डपथ त्याग्नु पार्टीको गल्ती भएको बताउँदै आएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थानीय तह विभागका सदस्यहरूलाई सपथग्रहण गराउने क्रममा समाजवादको आधार तयार गर्न समुदायमा आधारित उत्पादन शक्तिको निर्माण गर्नुपर्नेमा पनि नेता शर्माले जोड दिनु भएको छ ।